नवलपरासी (पूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरस्थित पूर्व–पश्चिम राजमार्गमा रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मध्यबिन्दु नगरपालिका–१ निवासी ५१ वर्षीय ओमनारायण गुरौ (थारु) को उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मोटरसाइकल चालक भारत घर भएका करिब २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, चितवन पठाइएको छ ।
प्रहरीका अनुसार ना ५ ख १७५७ नम्बरको ट्रकको टायर पड्किएपछि सडक छेउमा रोकी मर्मत गर्ने क्रममा ग १० प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
घटनापछि ट्रक चालक बर्दघाट नगरपालिका–१० भुताहा निवासी ५२ वर्षीय भीमबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।