अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स शनिबार काठमाडौं आइपुगेकी छन्। उनी भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएकी हुन्।
नेपालस्थित अमेरिकी राजदूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन रोजर्स नेपाल आएको बताइएको छ।
तीन दिने नेपाल भ्रमणका क्रममा रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्ध, सार्वजनिक कूटनीति, शिक्षा तथा आपसी सहयोगका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स काठमाडौं आइपुगेकी छन्। तीन दिने भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
बालेन सरकार गठनपछिको अमेरिकाबाट भएको यो तेस्रो उच्चस्तरीय भ्रमण हो। यसअघि वैशाख ८ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुरले नेपाल भ्रमण गरेका थिए। त्यसैगरी वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर पनि नेपाल आएका थिए।
हालका उच्चस्तरीय भ्रमणहरूले नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउन तथा द्विपक्षीय सहकार्य विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।