भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान करिब २ बजे सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुर्घटनामा परी दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए।
दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ निवासी ३५ वर्षीया सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी अमृत घरेडी घाइते भएका छन्।
घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।