Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

नवलपरासीमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमण दर उच्च : ३५ वर्ष माथिलाई खोप लगाईँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरिएको छ ।

जिल्लाभर यही चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले बताए। अभियानअन्तर्गत जिल्लाभित्रका ३५ वर्षमाथिका करिब एक लाख ५० हजारभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

“चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापनिज इन्सेफ्लाइटिसका १५ जना सङ्क्रमित फेलापरेका छन्, तीमध्ये छ जनाको मृत्यु भइसकेको छ”, उनले भने, “सङ्क्रमणदर बर्सेनि बढ्दै जान थालेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)लाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिएको हो ।”

जिल्लामा रोगको जोखिम बढ्दै गएपछि यसको रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालले बताए । उनका अनुसार अभियानमार्फत जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स नामक लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टे मध्यम आकारका, खैरो रङका र पेटतिर सेतो चिह्न भएका हुन्छन् । यिनीहरूले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन् । विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापनिज इन्सेफ्लाइटिस बढी देखिने गर्दछ ।

स्वास्थ्य कार्यालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आर्थिक वर्ष २०७९-८० मा सात जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी आव २०८०-८१ मा आठ जनामा सङ्क्रमण देखिएकोमध्ये एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रमुख चापागाईँका अनुसार जापनिज इन्सेफ्लाइटिस क्युलेक्स नामक लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टे मध्यम आकारका, खैरो रङका र पेटतिर सेतो चिह्न भएका हुन्छन् । यिनीहरूले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन् । विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापनिज इन्सेफ्लाइटिस बढी देखिने गर्दछ ।

विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी व्यक्तिमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण हुने गरेको तथ्याङ्क छ । यसमध्ये १० देखि १५ हजार जनाको मृत्यु हुने गरेको जनाइएको छ ।