Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

मन्दिरमा भेटिएको पेस्तोल खेलाउने क्रममा बालक घाइते

सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश राम गोली लागेर घाइते भएका छन् । बालकको दाहिने हातको पञ्जामा चोट लागेको छ ।

घटना मलङ्गवा–४, ढाकाबोर्डर क्षेत्रमा भएको हो। प्रहरीले जानकारी दिएको अनुसार, बालक बेवारिसे पेस्तोल खेलाउने क्रममा गोली लागेर घाइते भएका हुन् । निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा पेस्तोल भेटिएको थियो । बालकले सो पेस्तोल नक्कली होला भनी चलाउँदा पड्किएको थियो ।

घाइते बालकलाई प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ र हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यसअघि गत आइतबार, मलङ्गवामा भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट हत्या भएको थियो । प्रहरीले आजको घटनामा प्रयोग भएको हतियार पनि सो हत्या घटनासँग सम्बन्धित हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ ।