नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाह घटनाबारे राजनीतिक दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि सवारीसाधन तेर्स्याएको आरोप लगाएका छन् ।
४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको वृहत् छलफललाई सम्बोधन गर्दै सभापति थापाले सवारीसाधन राख्न आएका व्यक्तिहरू सरकारी सवारी चढेर फर्किएको जानकारी स्थानीयवासीबाट प्राप्त भएको उल्लेख गर्दै सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाह घटनाबारे राजनीतिक दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि राज्यले यस्तो व्यवहार गरेको उनको आरोप थियो ।
उनले राज्यले नागरिकको आवाज दबाएर अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाउदै नागरिकलाई सत्तामाथि प्रश्न गर्ने अधिकारबाट वञ्चित गर्न नसकिने बताए ।
उनले बीपी कोइरालाले राणा शासनका बेला नागरिकलाई सत्तामाथि प्रश्न गर्ने अधिकार कसैले खोस्न नसक्ने भन्दै दिएको सन्देश स्मरण गर्दै पार्टी नेताका घर, सञ्चारमाध्यमका कार्यालय र व्यवसायीका व्यापारिक प्रतिष्ठान अगाडि सवारीसाधन तेर्स्याएर नागरिकको निजी सम्पत्ति, आम्दानी र जीवनमा असर पुर्याउने अधिकार राज्यलाई नभएको बताए ।
सुकुम्बासी समस्यालाई दलीय मुद्दा बनाउने कांग्रेसको नीति नरहेको स्पष्ट पार्दै उनले कानुनले दिएको समाधानको बाटो नअपनाएर सरकारले नै समस्या सिर्जना गरेको बताए । राज्य प्रत्येक नागरिकको अभिभावक र संरक्षक हुनुपर्नेमा मानव जीवनको रक्षाप्रति असंवेदनशील बनेको उनको भनाइ थियो ।
सभापति थापाले आगामी साउन ६ गते पार्टीको ‘जरा अभियान’ सम्पन्न भएपछि साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन हुने नयाँ अभियान सार्वजनिक गरिने जानकारी दिए । नेपाली कांग्रेस कुनै घटना भएपछि मात्र प्रतिक्रिया दिने दल नभई सम्भावित नागरिक समस्यालाई पहिचान गरी त्यसलाई सार्वजनिक गर्ने अभियानमा सक्रिय रहने उनले बताए ।
कार्यक्रममा कांग्रेसका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा पाँच किलोमिटर हरित दौड, चित्रकला प्रदर्शनी र संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनका अनुसार यस वर्ष नेपाली कांग्रेसले जलवायु परिवर्तन र त्यसका प्रभावलाई केन्द्रमा राखेर बीपी स्मृति दिवसका कार्यक्रम सञ्चालन गर्नेछ ।
शर्माले साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरिने र प्रतिष्ठानअन्तर्गत रहेका ३० वटा विषयगत समितिको कामबारे पनि जानकारी गराएका थिए । छलफलमा उपत्यकामा रहेका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, उपत्यकाका जिल्ला सभापति तथा प्रतिष्ठानका सदस्यहरूको सहभागिता रहेको थियो।