उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विभिन्न स्थापित सञ्चारमाध्यमका कार्यालयबाहिर शंकास्पद रूपमा सवारीसाधन राखी त्रास सिर्जना गरिएको घटनाको निन्दा तथा भर्त्सना गरेका छन्।
घिसिङले लोकतन्त्रको मेरुदण्ड मानिने स्वतन्त्र प्रेसलाई डर, धम्की र आतंकको वातावरणमा धकेल्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यता, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन् ।
उनले सञ्चारमाध्यमले डर, धम्की र त्रासमुक्त वातावरणमा स्वतन्त्र रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति हुनुपर्नेमा जोड दिएका छन् ।
घिसिङले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न तथा सञ्चारमाध्यमलाई निर्भय वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने सुनिश्चितता गर्न पनि उनले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।