मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा मुद्दा चलाइने भएको छ। उक्त कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था रहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निर्वाचन आयोगको पत्राचारका आधारमा प्रसाईंलाई मध्यरातमा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो।
निर्वाचन आयोगले उनका गतिविधि तथा अभिव्यक्तिबाट सार्वजनिक शान्तिमा असर पुगेको उल्लेख गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीलाई पत्र लेखेको थियो। आयोगको ठहरअनुसार उनलाई बाहिर राख्नु सार्वजनिक शान्तिमाथि चुनौती हुन सक्ने भएकाले राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रवक्ता भट्टराईका अनुसार प्रसाईंलाई हिरासतमा राख्न कार्यालय समय सुरु हुनासाथ म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइनेछ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।