राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। उनलाई सोमबार (फागुन ४) साँझ भक्तपुरस्थित निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रसाईंलाई घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरी स्रोतका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो। सोही आशंकाको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ।
यसअघि पनि प्रसाईं माघ महिनामा पटक–पटक पक्राउ परेका थिए। माघ १९ गते नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो। पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनअनुसार माघ २५ गते हाजिरी जमानीमा रिहा भएका थिए।
त्यसअघि माघ ५ गते पोखराबाट समेत पक्राउ परेर सोधपुछपछि रिहा भएका प्रसाईंमाथि प्रहरीले पुनः अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।