Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

टुँडिखेलमा अमेरिकी सेनाको चर्चा: के भन्छ नेपाली सेना?

काठमाडौं स्थित टुँडिखेलको सैनिक मञ्चमा आइतबार बिहान नेपाली सेनाको २६३औं वार्षिकोत्सव अवसरमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा अमेरिकी सेनाको टोलीले सहभागिता जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अमेरिकी सेनाका दुई दर्जन सैनिक टोलीले मञ्चमा ब्याण्ड बजाउँदै नृत्य प्रदर्शन गरेका थिए ।

सैनिक दिवसको अवसरमा नेपाली सेनाले गरेको निमन्त्रणालाई स्वीकार गर्दै अमेरिका, भारत, पाकिस्तान, माल्दिभ्स र भूटानका सैनिक टोलीहरूले कार्यक्रमलाई विशेष बनाएका थिए ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, 'हामीले बोलाएर उहाँहरू आउनुभयो, उहाँहरूले बोलाउँदा हामी जान्छौँ, यो त भइरहने कुरा हो।' उनले सैनिक दिवसको अवसरमा विभिन्न देशका सेना सहभागी हुने परिपाटीलाई सामान्य र स्वाभाविक बताउँदै यसमा कुनै विवाद नगर्न अनुरोध गरे ।

नेपाल र विभिन्न देशहरूको 'मिलिट्री टु मिलिट्री' सहकार्य अन्तर्गत यो परम्परा पुरानो भएको र भविष्यमा पनि यस्तै कार्यक्रम हुने जनाइएको छ ।