राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित सेना दिवस समारोहमा अमेरिकी सेनाको टोली सहभागी भएपछि चौतर्फी आलोचना सुरु भएको छ। आइतबार बिहान आयोजित नेपाली सेनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा भएको बढाइँ तथा सैनिक कला प्रदर्शनीमा अमेरिकी सेनाको एक टोलीले ब्याण्ड प्रस्तुति दिएको थियो।
समारोहमा अमेरिकी सेनाका दुई दर्जनभन्दा बढी सैनिकले टुँडिखेलमा ब्याण्ड बजाउँदै सांगीतिक प्रस्तुति दिएका थिए। उक्त प्रस्तुतीको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि यसबारे समर्थन र विरोध दुवै प्रतिक्रिया आएका छन्। आलोचकहरूले विदेशी सेनाको प्रत्यक्ष सांगीतिक सहभागितालाई लिएर प्रश्न उठाएका छन् भने केहीले यसलाई सैनिक कूटनीतिक अभ्यासको निरन्तरता भएको बताएका छन्।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, विभिन्न मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, प्रधानसेनापतिसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाली सेनाले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। तर, पछिल्ला वर्षहरूमा संयुक्त अभ्यास तथा सैनिक सहकार्य कार्यक्रमहरू बढ्दै गएको सन्दर्भमा यस घटनालाई त्यसैको निरन्तरताका रूपमा पनि हेरिएको छ।