Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

बालेनको घरमा चोरी गर्ने तीन जना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बाँसवारीका ४२ वर्षीय मनीष राजवहाक, सिन्धुपाल्चोकका खिमबहादुर खड्का र धादिङका सञ्जय श्रेष्ठ रहेका छन् ।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार उनीहरूलाई विशेष प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले केही दिनअघि महाराजगन्जस्थित चप्पल कारखाना क्षेत्रभित्र रहेको बालेन शाहको कोठामा चोरी गरेका थिए । प्रारम्भिक अनुसन्धानमा चोरीमा संलग्न तीनै जना यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा पक्राउ परिसकेको खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, उनीहरू भदौ २४ गते भएको ‘जेनजी प्रदर्शन’का क्रममा नक्खु कारागारबाट फरार भएका आरोपी रहेको पनि अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।