राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि के अभियोग लगाइएको हो भन्नेबारे भने खुलाएका छैनन्। प्रसाईं यसअघि माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए। सार्वजनिक शान्तिविरुद्धको कसुरमा माघ ५ गते पोखराबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौँ ल्याएको थियो।
प्रसाईंले हालै नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो।
प्रसाईं पक्राउसँग सम्बन्धित थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।