जनस्वास्थ्य क्षेत्रका विज्ञ राजेश कुमार यादव विश्व नेतृत्व शिखर सम्मेलन–२०२६ मा सम्मानित भएका छन्। दिल्लीमा मिति २०८२/१०/२० गते सम्पन्न सम्मेलनको अवसरमा उनलाई नेपाल शिक्षा परिवर्तन अवार्ड प्रदान गरिएको हो। पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री, राजनीतिज्ञ एवं दार्शनिक डा. करन सिंहले यादवलाई उक्त अवार्ड प्रदान गरेका हुन्।
क्षयरोग कार्यक्रम तथा अनुसन्धानमा लामो समयदेखि सक्रिय यादव यसअघि सन् २०२५ मा बेलायतस्थित रोयल सोसाइटी अफ ट्रपिकल मेडिसिन बाट सम्मानित भएका थिए। त्यसैगरी, सन् २०२४ मा गण्डकी प्रदेशमा उत्कृष्ट क्षयरोग नियन्त्रण कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेबापत राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले उनलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरेको थियो।
यादवले आधारभूत शिक्षा आफ्नै गाउँस्थित श्री माध्यमिक विद्यालय, आनन्दनगर टाँडी, बरहथवा नगरपालिका–८, सर्लाहीबाट प्राप्त गरेका हुन्। पछि उनले यही विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै विद्यालय रूपान्तरणमा उल्लेखनीय योगदान दिएका थिए। उनको नेतृत्वअघि विद्यालय आधारभूत तहसम्म सीमित थियो भने विद्यार्थी संख्या करिब ३२० मात्र थियो। भौतिक संरचना समेत जीर्ण अवस्थामा रहेको विद्यालयमा यादवको कार्यकालमा तीन वटा नयाँ भवन निर्माण, कक्षा १० सम्म पठन–पाठन विस्तार तथा विद्यार्थी संख्या करिब ७२५ पुर्याउन सफल भएको स्थानीयले बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार पछिल्ला ४० वर्षमा विभिन्न व्यक्तिले विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरे पनि राजेश कुमार यादवले तीन वर्षमै हासिल गरेको उपलब्धि ऐतिहासिक रहेको छ। उनका प्रयासले सार्वजनिक विद्यालय पनि उदाहरणीय बन्न सक्छ भन्ने विश्वास स्थापित भएको उनीहरूको भनाइ छ। पूर्व रक्षा मन्त्री हरि प्रसाद उप्रेती, मधेश प्रदेश सरकारका पूर्व अर्थ मन्त्री सञ्जय यादव तथा बरहथवा नगर प्रमुख कल्पना कटुवालले यादवलाई इमानदारिता, कार्यकुशलता र समाजप्रतिको उत्तरदायित्वका उत्कृष्ट उदाहरणका रूपमा मूल्यांकन गरेका छन्।
अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै यादवले आफ्नो कामको पहिचान पाउनु ठूलो कृतज्ञताको अनुभूति भएको बताए। उनले सामुदायिक विद्यालय सक्षम भए पनि व्यवस्थापनको अभावले अपेक्षित नतिजा आउन नसकेको बताए। विद्यालय सफल बनाउन प्रतिबद्धता, सुशासन, राजनीतिकरणको अन्त्य तथा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको कर्तव्यनिष्ठता आवश्यक रहेको उनको भनाइ थियो।
यादवले नेपाल शिक्षा परिवर्तन अवार्ड प्राप्त गर्नुमा परिवार, पूर्व रक्षा मन्त्री हरि प्रसाद उप्रेती, पूर्व प्रदेश अर्थ मन्त्री सञ्जय यादव, नगर प्रमुख कल्पना कटुवाल, गाउँका अभिभावक, गुरुजन तथा सहयोगी संस्थाहरूको योगदान रहेको बताए। हाल राजेश कुमार यादव पोखरा विश्वविद्यालयमा मास्टर अफ हेल्थ इन्फर्मेटिक्स कार्यक्रम संयोजकका रूपमा कार्यरत छन्।