Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

होली र निर्वाचन एकैसाथ पर्दा सर्लाहीमा सुरक्षा चुनौती, जेनजी प्रतिनिधिद्वारा प्रशासनको ध्यानाकर्षण

होली पर्व र प्रतिनिधिसभा निर्वाचनबीचको छोटो अन्तरलाई मध्यनजर गर्दै सर्लाही जिल्लामा सुरक्षा, शान्ति–सुव्यवस्था तथा निष्पक्ष निर्वाचनमा पर्न सक्ने सम्भावित जोखिमबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। यसै सन्दर्भमा सर्लाही जिल्ला Gen-Z प्रतिनिधि रितेश शाह र राहुल रायले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा निर्वाचन कार्यालयमा संयुक्त रूपमा लिखित विज्ञप्ति बुझाएका छन्।

विज्ञप्तिमा फागुन २० गते होली पर्व र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन एकै समयमा परेकाले सर्लाही जिल्लालाई अत्यन्त संवेदनशील क्षेत्रका रूपमा लिइनुपर्ने उल्लेख गरिएको छ। विगतका निर्वाचनका क्रममा जिल्लामा झडप, तनाव र मतदान प्रक्रियामा अवरोधका घटना भएको स्मरण गराउँदै यसपटक त्यस्ता अवस्था दोहोरिन नदिन समयमै कडा सुरक्षा व्यवस्था र उच्च प्रशासनिक सतर्कता आवश्यक रहेको जनाइएको छ।

Gen-Z प्रतिनिधिद्वारा बुझाइएको विज्ञप्तिमा होली खेल्ने समय सीमित गर्नुपर्ने, मदिरा सेवन तथा भोट किनबेचमा शून्य सहनशीलताको नीति अपनाउनुपर्ने, संवेदनशील मतदान केन्द्रमा अतिरिक्त सुरक्षा परिचालन गर्नुपर्ने माग गरिएको छ। साथै, मतदाता ओसारपसार, नगद खेल नियन्त्रण र नागरिकलाई निर्भय रूपमा मताधिकार प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न आग्रह गरिएको छ।

रितेश शाह र राहुल रायले निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय निर्वाचन सुनिश्चित गर्नु सम्बन्धित निकायहरूको संवैधानिक दायित्व भएको उल्लेख गर्दै विज्ञप्तिमा उठाइएका विषयहरू तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका छन्।