Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

निर्वाचन एकीकृत सुरक्षा योजना अन्तर्गत आजदेखि नेपाली सेना परिचालन हुँदै

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेना परिचालन हुने भएको छ । सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

आजदेखि निर्वाचन आउन एक महिना मात्र बाँकी रहेको अवस्थामा सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउने योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन् ।  त्यस्तै एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइने बताइएको छ । 

निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि परिचालित हुने सेनाले जनाएको छ ।  यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए । निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको आधार खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती गर्ने तयारी गरिएको छ ।

एकीकृत सुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरूप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुन लागेको हो । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ ।

मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने व्यवस्था मिलाइएको छ ।

निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरिएको छ । सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने जनाएको छ । त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन् । त्यस्तै निर्वाचन व्यवस्थापनमा अपुग हुने एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । दुई हजार ८ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदशील र तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ । त्यस्तै निर्वाचनमा सशस्त्रतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालन गरिने भएको छ ।