Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आज आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

कार्यवाहक सभापति खड्काले दल विभाजनका सन्दर्भमा आयोगका विगतका निर्णय र नजिर विपरीत कांग्रेस आधिकारिकताको टुङ्गो लगाएमा त्यो मान्य नहुने स्पष्ट पारे ।  

 उनले कांग्रेसका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा आफूहरू आयोगमा आएको भन्दै विशेष महाधिवेशनका सन्दर्भमा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाए ।

कांग्रेस नेता डा शेखर कोइरालाले लोकतान्त्रिक पद्धतिअनुसार पार्टी आधिकारिकताको निर्णय हुने विश्वास व्यक्त गर्दै सिङ्गो केन्द्रीय समिति उपस्थित भएर अनुरोध गरेको जानकारी गराए। कुनै आयुक्तले टुँडिखेलमा गएर निर्वाचन कार्यक्रम सुरु गरेर आधिकारिकता नपाउने उल्लेख गर्दै उनले कांग्रेसको विवादबारे आधिकारिकता निर्णय पनि सोही आधारमा हुने विश्वास व्यक्त गरे ।

दस्ताबेज ग्रहण गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विधि र पद्धतिमा रहेर आयोगले निर्णय गर्ने बताए । उनले निर्वाचनका सबै कार्यक्रममा सक्रिय सहभागिताका लािग पनि अनुरोध गरे ।