संसद्को मंगलबार बसेको बैठकमा सत्ता र विपक्षबीच जुहारी चलेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले सरकारलाई घेरेका हुन् ।
केही दिनयता सडकमा देखिएका शंकास्पद गाडी र तिनले मिडिया एवम् सार्वजनिक स्थलमा भएको अवरोधलाई लिएर प्रतिनिधिसभामा सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरूबीच आरोप-प्रत्यारोप भएको हो ।
नेकपा एमालेका सांसद गणेश ठगुन्नाले सरकारका शंकास्पद गतिविधिबारे चर्को विरोधसहित कुरा उठाएका छन् ।
सडकका ती गतिविधि झट्ट हेर्दा सामान्य लागे पनि पञ्चायतकालीन मण्डलेतन्त्र र तत्कालीन राज्यआतंकको झल्को दिएको टिप्पणी ठगुन्नाले बताए ।
उनले यसो भनेर राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमाथि निशाना साँधेका हुन् । उनले यस्तो भनेसँगै सत्ता पक्षका सांसद पनि तातेका थिए ।
ठगुन्नाको आक्रामक टिप्पणीपछि रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला) आक्रोशित भइन् । उनले तत्कालै नियमापत्ति जनाउँदै ठगुन्नाको भनाइको प्रतिवाद गरिन् ।
उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) लाई आकर्षित गर्दै बिनाप्रमाण सिंगो राज्यसंयन्त्रमाथि हिलो छ्याप्ने काम भएको भन्दै आपत्ति जनाइन्।