ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनबापत उठाउने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू गलत भएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले काट्ने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको स्पष्ट पारेको छ । उक्त रकमबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै पनि अतिरिक्त सुविधा वा भत्ता प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको प्रहरी प्रधान कार्यालयले स्पष्ट गरेको छ ।
तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशन वा प्रसारण गर्दा नागरिकमा भ्रम सिर्जना हुने र सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।
नेपाल प्रहरीले सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न सबैमा अनुरोध गरिएको छ ।