निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मुलुकमा विकसित भइरहेको वर्तमान अवस्थामा राजनीतिक निकासका लागि आसन्न निर्वाचनको विकल्प नरहेको बताएका छन् ।
निर्वाचन आयोगले आज यहाँ सुरु गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा उनले प्रतिनिधिसभाका सबै निर्वाचन उत्तिकै महत्वपूर्ण रहेका भन्दै यो निर्वाचनको विकल्प नरहेको धारणा राखे ।
आयुक्त जबराले भने, “यस अवस्थामा देशलाई कहिलेसम्म राख्ने तत्कालको विकल्प निर्वाचन हो ।” लोकतन्त्रको खम्बा निर्वाचन भएकाले सबै राजनीतिक दल सहभागी हुँदै भयरहित वातावरणमा मतदान गर्नेगरी सहकार्य र समन्वयमा तयारी गर्नुपर्नेमा जोड दिए ।
आयुक्त जबराले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सरोकार भएका सबैको सहयोगको आवश्यकता औँल्याए ।
विगतको निर्वाचनभन्दा सहज बनाउन आफूहरूले कोसिस गरिरहेको भन्दै उनले सीमित स्रोतसाधनमा निर्वाचन गर्न लागिएको बताए । उनका अनुसार आयोगले हालसम्म सात प्रकारका सामग्री सरकारी निकायमार्फत खरिद गरेको छ ।
अहिलेको परिस्थितिमा दाताको सहयोग प्राप्त नभएको जनाउँदै सरकार िलगानीमा रु छ करोड ५० लाखको सामान मात्र खरिद गरिएको आयुक्त जबराले उल्लेख गरे । १७ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आचारसंहिता उल्लङ्घन हुन नदिन सबै मिलेर लाग्न आग्रह गरे ।
सामाजिक सञ्जालको दुरुपयोग र उम्मेदवारको खर्च मुख्य चुनौती भएको उनको भनाइ छ । यसअघि निर्वाचनको अनुभव लिनु भएकाको अनुभवलाई साटासाट गरेर कसरी राम्रोसँग निर्वाचन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने आयुक्त जबराले बताए।
निर्वाचन आयोगका सहसचिव राजेन्द्रकुमार केसीले कार्यशाला गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै दुई दिनसम्म हुने छलफलका विषयबारे जानकारी गराए। चितवनसहित काठमाडौँ, विराटनगर र नेपालगञ्जमा यस किसिमका कार्यक्रम भइरहेका उनले जानकारी दिए।
आजको सत्रमा विज्ञ स्रोतव्यक्तिका रूपमा पूर्वसचिव गोकर्णमणि दुवाडीले प्रतिनिधिसभा सदस्य निर्वाचनको संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रमका विषयमा सहजीकरण गर्दै छन्। विज्ञ स्रोतव्यक्ति शालिग्राम शर्मा पौडेलले निर्वाचनका विभिन्न पक्ष र निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका विषयमा सहजीकरण गर्दै छन्।
मङ्गलबार निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीका विषयमा लक्ष्मी यादव, मतदाता नामावलीसम्बन्धी व्यवस्था र मतदानका विषयमा विज्ञ स्रोतव्यक्ति दुवाडीले सहजीकरण गर्ने कार्यक्रम छ । यसैगरी मतगणनासम्बन्धी व्यवस्थापकीय कार्य र मतगणना प्रक्रिया तथा प्रतिवेदनका विषयमा सहसचिव केसीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।