पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले स्थायित्व र समृद्धिको बाटो नसमातेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार जारी सन्देशमा उनले अहिलेको अवस्था हिजोभन्दा पनि गम्भीर बन्दै गएको टिप्पणी गरेका हुन्।
“नारायणहिटी दरबारबाट हामी बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहेको संकटले हामीलाई चिन्तित तुल्याएको छ,” सन्देशमा उनले भनेका छन्, “हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबस्ने हो कि भन्ने निरासा पैदा भएको छ।”
पूर्वराजा शाहले शाहवंशीय राजसंस्थाले संघर्षपूर्ण अवस्थामै सबै क्षेत्रका नेपालीलाई सवल र सक्षम नेतृत्व दिएको दाबी गर्दै राजसंस्था पलायन वा निषेधित राजनीतिका लागि नभएको उल्लेख गरेका छन्।
पुँजी पलायन रोक्नुपर्ने र युवाको असन्तोषबारे चेतावनी
सन्देशमा उनले स्वदेशी पुँजी पलायन रोक्नुपर्ने आवश्यकता औंल्याएका छन्। “जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ,” भन्दै उनले युवापुस्ताको चाहना र भावनालाई बेवास्ता गर्दा असन्तोष पैदा भई विद्रोहसम्मको अवस्था सिर्जना हुने चेतावनी दिएका छन्।
युवालाई राजनीतिक दलले प्रयोगमात्रै गर्ने प्रवृत्तिप्रति उनले कडा असन्तुष्टि जनाएका छन्। “नेतृत्वले पटक–पटक युवालाई प्रयोगमात्रै गर्ने तर भावना बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मियो, जसका कारण देशमा जनधनको क्षति भयो,” उनले भनेका छन्, “भविष्यका कर्णधारको ज्यान गएको घटनाले स्तब्ध बनाएको छ।”
उनले “स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्छ, परिचालित व्यक्तिले अर्काको भलो खोज्दै हिँड्छ” भन्दै युवालाई स्वतन्त्र सोच र आत्मनिर्भर दिशातर्फ उन्मुख हुन आग्रह गरेका छन्।
भूराजनीतिक संवेदनशीलता र पलायनको बढ्दो समस्या
पूर्वराजा शाहले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई सही रूपमा नबुझ्दा मित्र राष्ट्रहरूको विश्वास र भरोसा गुम्ने खतरा बढेको बताएका छन्। पहिला युवा मात्र विदेश पलायन हुने अवस्था रहेकोमा अहिले पुँजी र व्यवसायीसमेत पलायन हुन थालेको उल्लेख गर्दै उनले यसलाई देशका लागि गम्भीर चेतावनीका रूपमा चित्रित गरेका छन्।