Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

अमेरिकाको विभाजित एनआरएनएका कारण मन्त्री गुप्ता विवादमा, भिसा प्रोसेस नै नगरेको दाबी

अमेरिका भ्रमण स्वीकृतिको विवादमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले भिसा प्रोसेसनै नगरी कसरी प्रक्रिया रद्ध हुन्छ भन्दै प्रश्न गरेका छन् ।

अमेरिका भ्रमणको निमन्त्रणा गरेको भनिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए) का दुई समुहले पक्ष र विपक्षमा विज्ञप्ति निकालेर विवाद बढाएपछि मन्त्री गुप्ताले अमेरिका जाने योजना स्थगित गरेको बताइएको छ ।

मन्त्री गुप्ताले भनेका छन्- 'आज त हेरियो बाहिर जाने कुरा रद्द गरियो समाचारहरुमा भिसा प्रोसेस गरेको छैन रद्द कसरी गरियो ? राजनीति हो र हामी युबाहरु राजनीतिमा आफुप्रति लाग्ने अफबाह, हुँदै न भएको आरोपहरु सहन तैयार छौं ।'

नागरिक सरकारमा बसेर पार्टीको राजनीति गरिरहेको आरोप लागेपछि राजीनामा दिने दबाबमा रहेका मन्त्री गुप्ताले पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकमा आफ्नो अमेरिका भ्रमण स्वीकृत गराएका थिए । उनले अमेरिकामा आयोजना हुने 'रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन' भन्ने कार्यक्रममा सहभागी हुन जाने भन्दै भ्रमण स्वीकृत गराएका थिए ।

अमेरिकामा गैरआवासीय नेपाली संघ विभाजित रहेको पक्ष विपक्षले मन्त्री गुप्तालाई विवादमा पारेको भन्दै गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यसमितिले माफी मागेको छ ।

मन्त्री गुप्ताले भनेका छन्- 'अनर्गल आरोपहरू, अतिरञ्जित टीकाटिप्पणीहरू र विषयवस्तुको गहिराईमा नपुगी, सत्य तथ्य जाँचबुझ नगरि तथ्यलाई तोडमोड गरेर फैलाइने खबरहरूले समाजको भलो गर्दैन, देशको भलो गर्दैन । लोकतन्त्र र वाक् स्वतन्त्रतामा, आलोचनात्मक चेतना सहितको खबरदारी र जवाफदेहिताको खोजी जति सुन्दर हुन्छ, अपुष्ट अनि अनावश्यक आरोप र नियतवशको खेदाई त्यतिकै कुरूप हुन्छ, अनैतिक हुन्छ । हामी सौन्दर्यको पक्षमा उभिने कि कुरुपको पक्षमा भन्ने कुराले हाम्रो समाज कता डोहोर्याउने भन्ने निर्क्यौल गर्दछ। पक्कै पनि हामी सबै हाम्रो समाज र देशलाई सुन्दरताको मार्गमा डोहोर्याउन चाहन्छौँ। त्यसर्थ अनावश्यक अतिरञ्जना र अफवाहबाट बचौँ र बचाऔँ ।'