Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

खेलकुद मन्त्री गुप्ता अमेरिका नजाने

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन्। उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता भिसा नै नलिएको र भ्रमण नगर्ने निर्णय भइसकेको जानकारी दिएका हुन् ।

रिमालका अनुसार, मन्त्री अमेरिका जान योजनामा थिए, तर क्याबिनेटको निर्णय ढिला भएको र भिसा आवेदन समेत नदिइएकोले भ्रमण नहुने तय भएको हो।

मन्त्री गुप्तालाई अमेरिका जान नक्कली निमन्त्रणा बनाइएको भन्दै आलोचना भएपछि उनी भ्रमण रद्द गर्ने निर्णयमा पुगेका हुन्। यसअघि, मन्त्रिपरिषद्को पुस २१ गतेको बैठकले मन्त्री गुप्तालाई अमेरिका जान अनुमति दिएको थियो।

यसअघि मन्त्रिपरिषदले अमेरिकामा हुने 'रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन' सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएपछि यो विषय चर्चामा आएको थियो।

कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको थियो। तर सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भनेर विज्ञप्ति निकालेको थियो। त्यसपछि मन्त्री अमेरिका जाने कार्यक्रम झनै विवादित बनेको थियो।

अमेरिकामा अहिले गैरआवासीय नेपालीहरूका तीन समूह छन्। त्यसमध्ये उप्रेतीको समूह एउटा हो। उप्रेतीले संघको युवा विभागले कार्यक्रम आयोजना गर्न लागेको थियो।