Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

विशेष महाधिवेशन अपरिहार्य छ: महेश आचार्य

नेपाली काँग्रेसका नेता महेश आचार्य विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् ।पार्टीमा देखिएको पछिल्लो विवाद बारे आफ्नो धारणा राख्दै नेता आचार्यले कांग्रेस विधान अनुसार केन्द्रिय समिति नभएर केन्द्रिय महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको जिकिर गरेका छन् ।

उनले भाद्र २३ र २४ पछि देशको गम्भीर बन्दै गएको अवस्थासँगै काँग्रेस पार्टी विधानको निरन्तर वेवास्ता, नीतिगत अन्योल, सांगठनिक दुरावस्था र नेतृत्वको वर्तमान संकटले पार्टीको विशेष महाधिवेशन अपरिहार्य बनाएको बताएका छन् ।

उनले भनेका छन्:  कांग्रेस विधान अनुसार केन्द्रिय समिति होइन, 'केन्द्रिय महाधिवेशन' पार्टीको सर्वोच्च निकाय हो । धारा २२ अनुसार केन्द्रिय समितिको पहिलो मुख्य काम 'महासमिति र महाधिवेशनका निर्णय कार्यान्वयन गर्ने' र दोस्रो काम 'महासमिति र महाधिवेशनको बैठक नभएको बेला आवश्यक बिषयमा निर्णय गर्ने र पछि हुने महासमिति वा महाधिवेशनमा ति निर्णय अनिवार्य पेश गर्ने' हो।केन्द्रिय समितिले पार्टीको कोष र लेखा परिक्षणको प्रतिवेदन, संसदीय दलको प्रतिवेदन लगायत आफ्ना सबै प्रस्ताव र प्रतिवेदन महाधिवेशनमा प्रस्तुत गर्नु पर्ने बाध्यकारी व्यवस्था छ। अनि धारा १६ अनुसार कार्य समितिले प्रस्तुत गरेका विषयमा छलफल र निर्णय गर्ने अधिकार महाधिवेशनको हुन्छ।साथै विधानले 'अल्पकालीन वा दीर्घकालीन महत्वका विषयमा पार्टीको नीति निर्धारण गर्ने' र  'पार्टी संगठन सम्बन्धी विषयमा नीतिगत निर्णय लिने' अधिकार महाधिवेशनलाई मात्र सुम्पेको छ । यसका साथै 'महाधिवेशनका कम्तिमा १० प्रतिशत सदस्यले केन्द्रिय कार्य समितिका कुनै पनि निर्णय पुनरावलोकन गर्ने' प्रस्ताव राख्न सक्छन र महाधिवेशनले त्यसमा निर्णय गर्न सक्छ।

विधानका यी व्यवस्थाले केन्द्रिय कार्य समितिलाई पार्टीका नीतिगत र सांगठनिक मुद्दामा एकल ढंगले आफु खुसी निर्णय गर्न रोकेको छ र महाधिवेशन प्रति जवाफदेहि बनाएको छ।कार्य सम्पादन समितिका पछिल्ला निर्णयहरुले विधानका यी मर्यादालाई मिच्न थालेका छन।विधानत: आफु जवाफदेहि हुनु पर्ने महाधिवेशनका बहुमत प्रतिनिधिको माँग र अग्रसरता लाई 'अवैधानिक' भन्ने जस्ता निर्णय र प्रचार त्रुटिपुर्ण र आपत्तिजनक हुन पुगेको छ।वस्तुत: कार्य सम्पादन समितिका सबै निर्णय केन्द्रिय कार्य समितिबाट अनुमोदन गराउनु पर्ने निर्णय हुन र अहिले कार्य समितिको बैठक समेत बोलाउन छाडिएको अवस्था छ। भाद्र २३ र २४ पछि देशको गंभीर बन्दै गएको अवस्था संगै हाम्रो पार्टी विधानको निरन्तर वेवास्ता, नीतिगत अन्योल, सांगठनिक दुरावस्था र नेतृत्वको वर्तमान संकटले पार्टीको विशेष महाधिवेशन अपरिहार्य बनाएको छ।