Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  भरतबहादुर विकले जानकारी दिए ।

सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् ।

च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको उनले बताए । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।