Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

राखेपको १२४औँ बोर्ड बैठक सम्पन्न, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ पारित

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२४ औँ बोर्ड बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ । 

दशौँ राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल सङ्ख्या र खेलाडी कोटाका सम्वन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारीबारे प्रदेश खेलकुद र विभागीय टोलीहरूलाई पत्राचार गर्ने निर्णय भएको छ ।

यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आयव्यय पास गरेको छ । अन्तरराष्ट्रिय खेलकुद परिसर सातदोवाटोमा ‘जेनजी शहीद स्मृति पार्क निर्माण गर्ने, त्यहाँको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णाय गरेको छ ।

बैठकले सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ । बैठकमा परिषद्का उपाध्यक्ष धु्रव आर्चाय, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, सदस्य सचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति रहेको  थियो ।