सरकारले यही कात्तिक २० र २१ गते देशभरका पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक वर्ष दुई चरणमा यो राष्ट्रिय अभियान सञ्चालन गर्दै आएको छ। पहिलो चरण वैशाख ६ र ७ गते र दोस्रो चरण कात्तिक २ र ३ गते सञ्चालन हुने गरेकोमा, यस वर्ष सो मितिमा दिपावलीको लक्ष्मीपूजा परेको कारण अभियान सारिएको परिवार कल्याण महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार देशका ७५३ स्थानीय तहमा सञ्चालन हुने दुईदिने अभियानमा करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
यस अभियानका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने महाशाखाले जनाएको छ।
डा. लालले भने, “६ देखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइनेछ।”
महाशाखाका तथ्यांकअनुसार, अघिल्लो चरणमा भिटामिन ‘ए’ क्याप्सुल खाने बालबालिकाको ९० प्रतिशत र जुकाको औषधि खाने ८७ प्रतिशत सहभागिता रहेको थियो।