Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

किन फिल्म ‘जेरी अन टप’ को गीत युट्युबबाट हटाइयो?

बुढासुब्बा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’हटाइएको छ । 

घटस्थापनाको अवसर पारेर सोमबार रिलिज गरिएको गीत २४ घन्टा पनि नवित्दै युट्युबबाट हटाइएको छ । पाँच लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको गीत अचानक हटाइएपछि सबै आश्चर्यमा परेका छन् । 

फिल्मका निर्माता सरोज न्यौपानेका अनुसार गीतमा प्राविधिक समस्या देखिएपछि युट्युबबाट हटाइएको बताइएको छ । निर्माण पक्षले गीतको अर्को फाइल रिलिज भएका कारण त्यसलाई हटाएर गीतको नयाँ भर्सन रिलिज गरिने बताएको छ । 

प्राविधिक समस्याका कारण गीतलाई युट्युबबाट हटाइएपछि फिल्मका मुख्य अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी मागेका छन् । उनले लेखेका छन्, ‘सबैसँग माफी माग्छु । प्राविधिक समस्याका कारण हाम्रो नयाँ गीत हटाउनुपर्‍यो । तर, चिन्ता नगर्नुस्, हामी चाँडै नयाँ संस्करण लिएर आउनेछौं ।’ 

यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ भने फिल्ममा सुरक्षा पन्तको विशेष भूमिका रहेको छ ।