Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

एक वर्षसम्म अन्तर्वार्ता नदिने मन्त्री महावीर पुनको घोषणा

विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले ट्राफिक जरिबानाको विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा परेपछि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका हुन् । साथै उनले अटेर गर्ने, अपराध गर्नेहरुलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने- 'आज देखि मैले कुनै पनि ठुला साना युटुवर सहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक बर्ष सम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन । केहि दिन अगाड़ी ट्राफिक जरिवाना सम्वन्धि कुरामा मलाई केहि थाहा छैन भन्दा भन्दै पनि उनीहरुले कोट्याई कोट्याई सोधेको थिए । मैले अटेर गर्नेलाई जरिवाना गर्नु पर्छ भनेको हो र ५० हजारको कुरा उनीहरुले नै निकालेको हो । अटेर गर्ने, अपराध गर्नेहरुलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ ? आफैले नै कल्पना गनुहोस् ।'