Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

युएईका मान्यता नपाएका कलेजमा विद्यार्थी पठाएर ठगी गरेको आरोपमा नौ कन्सल्टेन्सी सञ्चालक पक्राउ

संयुक्त अरब इमिरेट्स (युएई) का आधिकारिक मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाई ठगी गरेको आरोपमा नौ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले युएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको सम्बन्धित निकायबाट मान्यता नपाएका शैक्षिक संस्थामा विद्यार्थी भर्ना गराउँदै त्यहाँको अध्ययनलाई फ्रान्स, अष्ट्रेलियालगायतका मुलुकका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गर्न सकिने भन्दै झुक्याएर ठगी गरेको आरोप छ ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले एडुपोर्ट प्रालि, वेस्टफोर्ड एजुकेसन प्रालि, प्रोप एभिएसन प्रालि र एस्पायर ग्लोबल प्रालिसँग आबद्ध रुपक कोइराला, राजेश भण्डारी, सन्तोष खतिवडा, चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ), सुरेन्द्र महर्जन, दिवस पोखरेल, मनित आचार्य, शेखर पाण्डे र विशाल चापागाईंलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।