Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

मदनकृष्ण श्रेष्ठको समर्थन जेनजीलाई- "आवाज सुनिनुपर्छ, भ्रष्टाचारीहरू थुनिनुपर्छ"

देशभरि जेनजी (Gen Z) पुस्ता भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिरहेका बेला वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आन्दोलनप्रति समर्थन जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले युवाहरूको आवाज दबाउँदै नहुने स्पष्ट सन्देश दिएका छन्। लामो समयदेखि देखिँदै आएको नाताबाद, कृपाबाद, सत्तामोह र अवसरहरूको अभावले देशको युवा विदेशिन बाध्य भएको उल्लेख गर्दै श्रेष्ठले लेखेका छन्:

"देशले हरेक काल खण्ड पार गरेको पढेको छु, र कतिपय त आफैँले भोगेको छु। आवाजलाई दबाइएको, नाताबाद देखिएको, कृपाबाद देखिएको, सत्तामोह देखिएको देख्दै छु। यही कारणले हजारौं युवाहरू बिदेशिन बाध्य भएका छन्।"

उनका अनुसार अहिलेको पुस्ताको यो "उकुसमुकुस" अन्ततः आवाजमा परिणत भएको हो र यो आवाज सुन्नु आवश्यक छ। श्रेष्ठ लेख्छन्:

"यो आवाज सुनिनुपर्छ, भ्रष्टाचारीहरू थुनिनुपर्छ, देशका हरेक नागरिकको चाहना बुझ्ने नेता चुनिनु पर्छ, अन्ततः देशको सपना बुनिनु पर्छ।"

श्रेष्ठको यो अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आएको छ। धेरैले अनुभवी पुस्ताबाट आएको यस्तो समर्थनले आन्दोलनलाई थप नैतिक बल मिलेको टिप्पणी गरेका छन्।

यसैबीच, काठमाडौं लगायतका प्रमुख शहरहरूमा जेनजी प्रदर्शन उग्र बन्दै गएको छ। काठमाडौंको नयाँ बानेश्वरमा संसद भवनसम्म पुगेका प्रदर्शनकारीहरूले प्रहरी घेरा तोडेपछि कर्फ्यू जारी गरिएको छ।

देशभरि फैलिँदै गएको यो आन्दोलनले अब राजनीतिक नेतृत्व, नागरिक समाज र आम जनतामा गम्भीर बहस सुरु गराएको छ — के पुरानै ढर्राको नेतृत्वले नयाँ पुस्ताको सपना बुझ्न सक्छ?