आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • ‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

    रङ्गमञ्चबाट कथा भनिरहेका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गरेको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ। बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो।

    रङ्गमञ्चमा मञ्चन हुने नाटकमा निर्देशक र अभिनेतासँगै प्राविधिक पाटोसमेत सम्हालेका कलाकार शर्माले यसपटक एउटा नाटकलाई नै ठूलो पर्दामा ल्याएको बताए। रङ्मञ्चबाट भनिएको  ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनको भनाइ छ।

    ‘नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रङ्गकर्मीले सुझाव दिए। केहीले ‘युट्युब’मा राख्नसमेत सुझाउनु भयो, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन। नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन, युट्युबमा ल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो’, शर्माले भने,’त्यसै कारण  ‘साथी, साथी आइदेऊ न’ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्ने सोचका कारण नै मैले यसलाई चलचित्रको माध्यममा ल्याएँको हुँ।’

    रङ्गमञ्च मै रमाउने कलाकार शर्मा यसपटक निर्देशकसँगै अभिनेता बनेका छन्। पहिलोपटक चलचित्रमा मुख्य अभिनेता बन्नुको कारणका रूपमा उनी पात्रप्रतिको न्यायलाई लिन्छन्। आफूले जीवन्त बनाएको पात्रलाई अन्यले के कसरी निर्वाह गर्ला भन्ने चिन्ताले नै निर्देशक र मुख्य अभिनेता बनाएको शर्माको भनाइ छ।

     ‘मैले एउटा भूमिकामा मात्र आफूलाई प्रस्तुत गरेको भएँ, अहिलेको भन्दा राम्रो काम गर्न सक्थे भन्ने लाग्छ, तर त्यो कथालाई अन्य निर्देशकले कसरी प्रस्तुत गर्नुहोला भन्ने डरले आफैँ निर्देशक बनेको हुँ’, उनले भने,’ अन्य केही प्रसिद्ध कलाकारलाई पनि अभिनयगर्न दिउँ भन्ने लागेर केही संवाद पनि गरेको थिएँ, तर ती कलाकारको लोकप्रियताले मैले सिर्जना गरेको पात्र र कथाको मर्मलाई ओझेलमा पार्ने हो कि भन्ने डर लाग्यो। सोही कारण म आफैँ यसमा दोहोरो भूमिकामा आएँ।’

    किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको चलचित्र ‘ताराहरू’ मा आत्महत्याको मार्गमा हिँडेकी एक किशोरीको भेट एक अर्धबैँसे पुरुषसँग हुन्छ। उनीहरू साथी बन्छन्। मृत्यु कल्पेर हिँडेकी किशोरीको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई चलचित्रको विषय बनाइएको छ। 

    रङ्गमञ्चमा मात्र देखाई रहँदा कथाले न्याय नपाएको महसुस गरेका कलाकार शर्माले चलचित्र हेर्ने दर्शकले विभिन्न कोणबाट समीक्षा गर्नेमा विश्वस्त छन्। ‘व्यावसायिक रूपमा हामीले यो चलचित्रको प्रचारप्रसार गर्नसकेका छैनौँ, तर चलचित्र हेर्ने दर्शकले यसलाई प्रचार गरेर हेर्न आग्रह गरिदिनुहुन्छ भन्ने मलाई लागेको छ। हामी रङ्गमञ्चका कलाकारले इमान्दार भएर सिर्जना गर्न सक्छौँ, तर हालको समयमा प्रतिस्पर्धा गर्न सक्दैनौँ। हाम्रो विषय र कथाले नै प्रतिस्पर्धा गर्नेछ’, उनले भने। 

    मध्यमवर्गीय परिवारमा जन्मेको पुरुषले सपना र चाहना पूरा गर्न कति सङ्घर्ष गर्छ ? समाजले उसबारे के सोच्छ ? अनि उसले समाजबारे के सोच्छ ? भन्ने प्रश्नको जवाफ खोज्दै कथा बुनिएको कलाकार शर्माले बताए।

    उक्त चलचित्रमा कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतका कलाकारले अभिनय गरेका छन्।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार