नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पछिल्ला केही दिनयता गृह जिल्ला गोरखामा छन् । शनिवार बिहान पुख्र्यौली घरको बार्दलीमा बसेर किताब पढिरहेको तस्वीर सार्वजनिक गरेका भट्टराई दिउँसो गृह नगर पालुङटारमा पार्टीको प्रशिक्षण तथा विस्तारित बैठकमा सहभागी भए ।
आइतबार बिहानै भट्टराईको सचिवालयले एक भिडिओ सार्वजनिक गरेको छ । ‘गोरखा र बाबुराम, बालसखाहरूसँगको एउटा मिठो भेटघाट’ क्याप्सनसहित फेसबुकमा राखिएको भिडिओ ३ मिनेट २८ सेकेण्डको छ ।
पिपलको छहारीमुनी स्टिलको प्रतीक्षालयमा १२–१५ जना वृद्धहरू भट्टराईकै प्रतीक्षामा देखिन्छन् । जसमा सुनिएका आवाजले उनीहरू सबै भट्टराईका पुराना चिनजानका व्यक्तिहरू हुन् । भिडिओ अघि बढ्दै जाँदा भट्टराई ‘नमस्कार’ गर्दै सबैसँग हात जोड्दै जान्छन् । भिडबाट ‘जम्मै चिनेको हैन त डाक्टर साब ?’ भनेर प्रश्न तेर्सिन्छ ।
अर्को स्वरमा सुनिन्छ–कोही विद्यार्थी, कोही साथी ?
त्यसपछि एक जना वृद्धले हात समात्दै आफूछेउमा भट्टराईलाई बसाउँछन् । अनि भन्छन्, ‘उहाँ र म, अनि दाइ यमप्रसाद सँगै कोठामा बसेको, मैले भात पकाएको ।’
हाँस्दै भट्टराई सुनिन्छन्, ‘होइन तीनै जना पालैपालो पकाउँथ्यौं ।’
‘होइन धेरै म पकाउँथें’, पहिलो व्यक्ति आफ्नो दाबी कसिलो पार्छन् । सबै गलल्ल हाँस्छन् ।
अन्य कोही सुनिन्छ, ‘तपाई उपाध्याय पर्नु भयो’, फेरि हाँसो गुन्जिन्छ ।
‘अनि तीनटा थालाँ म पस्किन्थे भात, बराबर । उहाँ चाहिँ सानो हुनुहुन्थ्यो, यति हुँदैन भनेर झिकेर अलि बढी दिन्थेँ,’ ती वृद्ध पुरानो स्मृति केलाएर भन्छन् । अर्को व्यक्तिले भट्टराई सानो हुँदा साह्रै पातलो भएको कुरा उल्लेख गर्छन् ।
त्यसपछि भट्टराईले ‘गाउँमा भएको भए यति भेट हुँदैनथ्यो’ भनेर थप कुरा अघि बढाउँछन् । वृद्धहरूमध्ये एकले भट्टराईले सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेटेको कुराबारे जिज्ञासा राख्छन् । ‘अस्ती रविलाई भेट्न जानु भएको रहेछ, फोटोमा आएको थियो,’ ती वृद्ध जिज्ञासा राख्छन् ।
त्यसपछि भट्टराई भन्छन्, ‘म त फेरि सबैलाई हो के, गयो–गयो त्यही पार्टीमा भन्छन् फेरि ।’ आफूले पञ्चायतकालदेखि नै राजनीतिक मान्छे जुनसुकै पार्टीको भए पनि भेट्ने गरेको उनी बताउँछन् । ‘त्यो किन गयो ? गयो त्यसैका पार्टीमा भन्छन्,’ भट्टराई भन्छन्, ‘अब यो उमेरमा आफ्नो पार्टी खोल्या मान्छे, जान्छु त ? सद्भाव त राख्नु पर्यो नि ।’ भोलि अदालतले जेसुकै फैसला गरे पनि अहिले फैसला नगरेसम्म मानवीय नाताले मात्रै भेट्न गएको उनले बताए । ‘त्यत्ति, त्यही हो, बाँकी केही होइन,’ उनले अगाडि भनेको सुनिन्छ ।
त्यसपछि उपस्थित वृद्धहरूले भट्टराईसँगका आफ्ना पुराना स्मृतिहरू फेरि कोट्याउन थाल्छन् । ‘उहाँले एसएलसी दिएर आएपछि हामीलाई पढाउनु भयो, ६ कक्षामा पढाउनुभा हो, अंग्रेजी,’ एक वृद्ध सुनिन्छन् । ‘मलाई नि पढाउनु भयो,’ अर्कोले थप्छन् ।
त्यसपछि भट्टराईलाई असहज लाग्ने प्रश्न आइलाग्छ । ‘तपाई जस्तो विद्वान मान्छे अलि ओझेलमा पर्नु भयो के ?,’ प्रश्नको ब्यहोरा सुनिन्छ । यस्तो प्रश्न अकस्मात् तेर्सिदा उनी एकछिन असहज महसुस गर्छन् । धेरै चर्को घामले पोल्छ, ओझेलमा पनि बस्नु पर्छ । दुई–चार वर्ष कुर्न सबैले ओझेल त बस्नै पर्छ नि,’ त्यसपछि उनी सुनिन्छन् ।
त्यत्तिकैमा अर्कोले भन्छन्, ‘राजनीतिमा कति बेला तल माथि हुन्छ भन्न सकिदैन् ।’ पुरानो प्रश्नकर्ता थप्छन्, ‘देशको लागि आवश्यक मान्छे त हो नि ?’ फेरि अर्को पुरानै प्रसङ्गमा कुराकानी चल्छ । केही बेरमा भट्टराई अन्त जानुपर्ने कार्यक्रम रहेको सुनाउँदै बिदा लिन्छन् । भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य जित्दै आएका थिए ।
भट्टराईकै सहयोगमा २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा भने यो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए । भट्टराई २०८४ सालमा हुने प्रतिनिधि सभा निर्वाचनमा भने गोरखा क्षेत्र नम्बर २ मा आफै उम्मेदवार हुने बताउँदै आएका छन् ।