Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

चक्रे मिलनको ‘बर्थडे पार्टी’ मा प्रहरी, मध्यराति ४७ जना पक्राउ

प्रहरीले ठमेल र महाराजगञ्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार मध्यराति अप्रेसन चलाउँदै गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना बढीलाई पक्राउ गरेको छ।

चक्रे मिलनको ‘बर्थडे पार्टी’ मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए ।

chakre_milan_pakrau.jpg

चक्रे मिलन महाराजगञ्जस्थित साम्बाला होटलबाट पक्राउ परेका छन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए ।

महाराजगञ्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले जानकारी दिएका छन् । प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैंटे’ का सहयोगी हुन् । कुमार ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरू बताउँछन् ।