Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

युक्रेनी ड्रोन आक्रमणपछि रुसले दुई समुद्री मार्ग बन्द गर्‍यो

युक्रेनले लगातार गरेको ड्रोन आक्रमणका कारण रुसले एजोभ सागरका दुई महत्त्वपूर्ण समुद्री मार्गमा जहाजको आवागमन अस्थायी रूपमा रोक्न बाध्य भएको छ । यसले रुसको अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एजोभ सागर रुसका लागि तेल, गहुँ, इस्पात, सूर्यमुखीको तेललगायतका सामग्री विश्व बजारमा निर्यात गर्ने प्रमुख समुद्री मार्ग मानिन्छ ।

युक्रेनको ड्रोन फौजका कमान्डर रोबर्ट ब्रोभदीले पछिल्ला नौ दिनमा एजोभ सागर क्षेत्रमा रुसी ११६ वटा जहाजलाई निशाना बनाइएको दाबी गरेका छन् । यसअघि युक्रेनका आक्रमण मुख्य रूपमा रुसी युद्धपोत र तेल बोक्ने जहाजमा केन्द्रित भए पनि पछिल्ला महिनामा त्यसको दायरा विस्तार भएको छ । लगातारको आक्रमणपछि रुसले डन-एजोभ जलमार्ग र केर्च जलडमरूमध्य हुँदै हुने जहाज आवागमन रोकेको छ । यी दुवै मार्ग एजोभ सागरलाई रुसको आन्तरिक जलमार्ग तथा कालो सागरसँग जोड्ने अत्यन्त महत्त्वपूर्ण नाका हुन् ।

उपग्रह तस्बिर र जहाजको आवागमन निगरानी गर्ने प्रणालीका अनुसार यी समुद्री मार्गका दुवै किनारमा ठूलो सङ्ख्यामा जहाज रोकिएका छन् । विश्लेषकहरूका अनुसार यसको असर तेल व्यापारमा मात्र सीमित रहने छैन । गहुँ, सूर्यमुखीको तेल तथा अन्य कृषि उत्पादनको निर्यात पनि प्रभावित हुन सक्छ । अमेरिकास्थित युद्ध अध्ययन संस्थानले युक्रेनको उद्देश्य क्रिमियालाई रुसी आपूर्ति सञ्जालबाट अलग गर्नु र समुद्री मार्गमार्फत हुने तेल तथा अन्नको निर्यातमा अवरोध सिर्जना गर्नु रहेको जनाएको छ ।

रिपोर्टका अनुसार रुसको करिब २५ प्रतिशत गहुँ एजोभ सागरमार्फत निर्यात हुने गर्छ । संकट लम्बिएमा रुसलाई अर्बौं डलर बराबरको आर्थिक क्षति हुन सक्ने अनुमान गरिएको छ । विश्वकै सबैभन्दा ठूलो गहुँ निर्यातकर्ता रुसबाट विश्व निर्यातको करिब २० प्रतिशत गहुँ आपूर्ति हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य पनि बढ्न थालेको छ । रुसले अन्य बन्दरगाह प्रयोग गरेर निर्यात निरन्तर राख्न सकिने दाबी गरे पनि व्यस्त निर्यात मौसममा ती बन्दरगाहको क्षमता पर्याप्त नहुने विज्ञहरूको भनाइ छ ।

एजोभ सागर युक्रेन र रुसबीच अवस्थित भित्री समुद्र हो, जुन केर्च जलडमरूमध्यमार्फत कालो सागरसँग जोडिएको छ। सन् २०१४ मा क्रिमिया नियन्त्रणमा लिएपछि रुसले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको थियो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि एजोभ सागर आसपासका अधिकांश युक्रेनी तटीय क्षेत्र पनि रुसको नियन्त्रणमा पुगेका थिए । सानो आकारको भए पनि दक्षिणी रुसबाट विश्व बजारसम्म ऊर्जा, कृषि तथा औद्योगिक सामग्री ढुवानीका लागि यो समुद्री मार्ग अत्यन्त रणनीतिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।