Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी हुन नसकेकी एक महिलाको उद्धार

सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका-१० की २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । 

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएका कारणले बिहीबार उनलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

रोकाया सुत्केरी हुने अनुमानित मिति जेठ १९ गते भएको र प्रसुती व्यथा सुरु हुनु अगावै खतराको लक्षण देखा परेकाले आकस्मिक अप्रेसन गरी बच्चा र आमालाई स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले रिफर गरिएको स्वास्थ्य चौकी चिल्खायाका सिनियर अहेब धनरूप शाहीले बताए। 

सुत्केरी व्यथा लागि जटिल अवस्थामा पुगी रोकायाको उक्त बर्थिङ सेन्टरमा सुत्केरी गराउनसमेत नसकिने हुँदा तत्काल सुविधा सम्पन्न अस्पतालमा थप उपचार गराउनुपर्ने भएको र उनको आर्थिक अवस्था कमजोर भएको भनि तिलागुफा नगर कार्यपालिकाको कार्यालयको पत्रका आधारमा महिला उत्थान समन्वय एकाइको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।