Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पत्रकार फणी महतको निधन

पत्रकार फणी महतको निधन भएको छ। विगत दुई वर्ष भन्दा बढी समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गए राति साढे १० बजे काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी महत दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए । चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत उनी उनी नेकपा एमाले निकट प्रेस चौतारीको मधेस प्रदेश अध्यक्ष समेत थिए।

ब्रेन ट्युमरको समस्या देखिएपछि महतले भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराएका थिए । उपचारमा ठूलो धनराशी खर्च भएपछि पछिल्लो समय उनको उपचारमा विभिन्न दाता र हितैषीहरुले समेत आर्थिक सहयोग गरेका थिए ।

उनको निधनप्रति नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।