काठमाडौंको मखन गल्लीमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ ।
उनी वृद्ध महिला रहेको तर सनाखत भइनसकेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी अपिल बोहोराले जानकारी दिए । उनका अनुसार, आगो नियन्त्रणमा आइसकेको छ ।
सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगो सल्किएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।