Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

काभ्रेमा बाढीले बेपत्ता बनाएकी महिलाको अवस्था अझै अज्ञात

सोमबार अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएकी काभ्रेकी एक महिलाको अवस्था अझै अज्ञात रहेको छ। बाढीले बगाएर बेपत्ता भएकी महिलाको आज पनि खोजी कार्य जारी छ।

सोमबार साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाएर बेपत्ता भएकी ३३ वर्षीया रेनुका गिरीको खोजीमा सशस्त्र प्रहरीले गोताखोरसहितको टोली परिचालन गरेको हो ।

सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्रको अस्थायी सुरक्षा बेस पनौतीबाट इन्स्पेक्टर भीमसेन केसीको कमाण्डमा खटिएको टोलीले फेला नपारेपछि अर्को टोली पनि खटाइएको छ।

रेनुकाकै खोजीका निम्ति आज बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेबाट डीएसपी विश्वनाथ जिसीको नेतृत्वमा विपद् व्यवस्थापनसहितको टोली परिचालन भएको छ।

उक्त टोलीमा पानीको तल्लो सतहसम्म खोजी गर्ने क्षमताका गोताखोर पनि रहेको सशस्त्रले जनाएको छ। गिरीलाई हिजो खेतबारीको काम गरेर फर्कदै गर्दा खोलाले बगाएको थियो ।