शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

फलेबासमा ‘आमा–बा स्वास्थ्य कार्यक्रम’ सुरु

फलेबासमा ‘आमा–बा स्वास्थ्य कार्यक्रम’ सुरु

बैशाख ३०, २०८२ मंगलवार
बैशाख ३०, २०८२ मंगलवार
  • फलेबासमा ‘आमा–बा स्वास्थ्य कार्यक्रम’ सुरु

    पर्वतको फलेवास नगरपालिकामा आमा–बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको संक्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

    वृद्धवृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु, मृगौला रोगको परीक्षण, रगत, दिसा, पिसाव, खकारलगायत जाँच, पोषण अवस्थाको लेखाजोखा, अन्य रोगको उपचार, परामर्श तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल पठाउन यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

    गत शुक्रबारदेखि वडा नं १ कार्कीनेटबाट सुरुआत भएको कार्यक्रम ११ वटै वडामा सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिए । चिकित्सकसहित स्वास्थ्यकर्मी नगरका सबै घरमा पुग्ने भएका छन्। उनका अनुसार वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगीले उपचार तथा निदानका विकल्पसम्बन्धी परामर्श दिँदै औषधिको मात्रा, उपभोग्य मिति, उपभोग गर्ने समयलगायत जानकारी गराइने छ।

    ‘पछिल्लो समय गाउँमा युवापुस्ता शून्यप्रायः छन्। गाउँमा वृद्धवृद्धाहरू मात्र रहेको अवस्थामा उहाँहरूलाई सामान्यदेखि जटिल रोग लागेमा पनि अस्पतालसम्म पुगेर उपचार सेवा लिन सक्नुहुँदैन। जसका कारण लामो समयदेखि विभिन्न रोगले संक्रमित भएर बसिरहनुपर्ने अवस्थाको अन्त्यका लागि चालु आर्थिक वर्षदेखि आमा–बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो’, सापकोटाले भने।

    उनका अनुसार कार्किनेटाबाट सुरु भएको अभियान थापाठाना, शङ्करपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भँगरा, कुर्घा र पाङ्राङमा पुगेर टुङ्गिने भएको छ। हरेक छ-छ महिनामा नियमित स्वास्थ्य परीक्षणका लागि यो अभियान थालिने नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए। उनका अनुसार ज्येष्ठ नागरिकसँगै ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ।

    उपचारका क्रममा निःशुल्क औषधि समेत वितरण गरिनुका साथै जटिल रोग लागेका बिरामीलाई नगरपालिकाकै एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्‍याउने व्यवस्थासमेत गरिने नगर प्रमुख तिवारीले बताए । आर्थिक अभावका साथै अस्पतालसम्म लैजान आफन्तको अभावमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका वा अन्य असहाय नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने नगरपालिकाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । यो कार्यक्रममार्फत नगरका १० हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

    ‘नगरपालिका भए पनि अधिकांश ग्रामीण बस्ती रहेको फलेबासमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव भएकाले नियमित परीक्षणको दायरामा सबैलाई ल्याउन अभियान सञ्चालन गरेका हौँ’, नगर प्रमुख तिवारीले भने । नगरका अधिकांश वडामा रहेका स्वास्थ्य चौकीमा अहेबका भरमा सञ्चालित छन् । सरकारले निःशुल्क ९८ प्रकारका औषधि वितरण गर्ने भनिए पनि ४० प्रकारका औषधिमात्र स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

    वडाबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नभइरहेका बेला चिकित्सकसहितको टोली घरघर र टोलटोलमा पुगेर ज्येष्ठ नागरिकसहित ३० वर्षमाथिका सबैको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले नगरवासीलाई स्वास्थ राख्न मद्दत पुग्ने फलेवास–८ ठानामौलाका वडाध्यक्ष मनबहादुर कुँवरले बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार