Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

झापाका रैथाने जङ्गली हात्तीको नामकरण

झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरुको नामकरण गरिएको छ। मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरुपका आधारमा नाम दिएका हुन्।

‘झापाका रैथाने हात्तीहरु’ नामक पुस्तिकामार्फत हात्तीका नामहरु सार्वजनिक गरिएको छ। स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका यी रैथाने हात्तीहरु पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताए।

पहेंलो दाह्रा भएको र दुवै आँखाको दृष्टि गुमाएको अन्दाजी ४५ वर्षको भाले हात्तीको नाम ‘आँखा हात्ती’ राखिएको छ। मानव बस्तीमा हिँड्दा शान्त स्वभाव देखाउने र एक्लै विचरण गर्न रुचाउने यो हात्तीलाई गाउँलेले ‘अन्धा हात्ती’ पनि भन्ने गर्दथे । ‘अन्धा’ शब्द प्रयोग नहोस् भनेर ‘आँखा हात्ती’ नामकरण गरिएको वडाध्यक्ष कार्कीले बताए।

नेपाल–भारत सीमा क्षेत्रमा देखा परिरहने र झापाका विभिन्न सामुदायिक बनमा एक्लै डुल्ने लामो र मोटो दुई दाह्रा भएको अर्को वयस्क हात्तीको नाम ‘ठूलो दाह्रे’ राखिएको छ। मझौला दाह्रा र चञ्चले स्वभाव भएको १२ वर्ष उमेरको हात्तीको नाम ‘चुलबुल गज’ र दाह्राविपरीत दिशामा बाहिरतिर फैलिएको अन्दाजी ५५ वर्षको अर्को हात्तीको नाम ‘घुमन्ते राजगज’ राखिएको छ।

अन्य हात्तीहरुको नाम मुलादन्ते, घुमन्ते गज, ढिकीच्याउँ दाह्रे, ठुटे, प्रसाद गज र एक दाह्रे सानो गज राखिएको छ। भारतबाट नेपालतिर हात्ती प्रवेश गर्ने विभिन्न नाकामध्येको प्रसाद गौडाबाट मात्र हिँड्ने स्वभाव भएका कारण एउटा हात्तीको नाम ‘प्रसाद गज’ राखिएको हो। मुलादन्ते हात्तीको दाह्रा मुला जस्तो आकारको छ भने ढिकीच्याउँ हात्तीको दुईवटा दाह्रा तल र माथितिर फैलिएको छ।

विगत आधा शताब्दीदेखि मानव–हात्ती द्वन्द्व भोग्दै आएको बाहुनडाँगीमा संरक्षणकर्मीको रुपमा लुइँटेलले जङ्गली हात्तीको आनीबानी र शारीरिक बनावटको गहिरो अध्ययन गर्नुभएको कार्कीले बताए। उनले कुन हात्ती कस्तो छ भनेर चिन्न र त्यहीअनुसार हात्तीमैत्री असल व्यवहार गर्न सहयोग पुगोस् भनेर रैथाने हात्तीको नामकरण गरिएको बताए ।

नेपालमा पाइने रैथाने हात्तीहरु एसियाली हात्तीको भारतीय उपप्रजातिअन्तर्गत पर्दछन्। ‘उहाँ यहाँ डुल्ने हरेक रैथाने हात्तीलाई टाढैबाट चिन्नुहुन्छ’, हात्तीको नामकरण गरेका संरक्षणकर्मी शङ्कर लुइँटेलका बारेमा वडाध्यक्ष कार्कीले भने, ‘उहाँ हात्तीको आनीबानी र रुपसँग परिचित हुनुहुन्छ। उहाँलाई पनि हात्तीले चिन्छन्।’