Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ड्रोन दर्ता शुल्क ४ सय गुणाले बढाएको भन्दै ड्रोन संघले मन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

नेपाल मानव रहित विमान (ड्रोन) संघले हालै सरकारले ड्रोन दर्ता शुल्कमा गरेको अत्यधिक वृद्धि प्रति आपत्ति जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

संघका महासचिव प्रविन भट्टराई, उपाध्यक्ष शाश्वत रिजाल, कार्यकारी सदस्य सौष्टभ भट्टराई, सदस्य सुजित चौधरीलगायतको टोलीले आज मन्त्री पाण्डेसँग भेट गरी आफ्नो गम्भीर चासो व्यक्त गरेका हुन्। संघका पदाधिकारीहरूले सरोकारवालाको सहभागिता विना गरिएको करिब ४ सय गुणासम्मको शुल्क वृद्धिले स्टार्टअप, अनुसन्धानकर्ता, सृजनशील युवा तथा ड्रोन व्यवसायमा संलग्न पक्षलाई नकारात्मक असर पार्ने गुनासो गरेका थिए।

संघले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “ड्रोन प्रविधिले पर्यटन प्रवर्द्धन, संस्कृति अभिलेखिकरण, विपद् व्यवस्थापन, अनुसन्धान लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ। तर, शुल्कमा एक्कासी गरिएको यति ठूलो वृद्धि कार्यक्षेत्रमा लागेका नेपालीहरूलाई निरुत्साहित गर्ने खालको छ।”

हालसम्म १० डलर प्लस भ्याट लाग्ने दर्ता शुल्कलाई बढाएर ५० डलर प्लस भ्याट तोकिएको छ, जसअनुसार नेपाली रुपैयाँमा करिब ८ हजार पर्ने देखिन्छ। संघले नेपाली र विदेशी नागरिकका लागि एउटै शुल्क दर निर्धारण गर्नु पनि असमान पहुँच र प्रतिस्पर्धामा बाधक हुने भन्दै आपत्ति जनाएको छ।

भेटमा मन्त्री पाण्डेले यस बिषयमा आफू सकारात्मक रहेको र थप प्रकृयाका लागि पहल गर्ने बताउँदै गंभिर ध्यानार्कषण भएको जनाएका छन् । 

मम.jpeg