Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रदीप अधिकारीविरुद्ध घुस लिएको र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध एक करोड ७१ लाख रुपैयाँ घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार प्राधिकरणका विभिन्न ठेक्काको स्वीकृति, अनुगमन र भुक्तानी प्रक्रियामा आफ्नो पदको दुरुपयोग गर्दै अधिकारीले ठेक्का दिलाइदिने तथा सहजीकरण गरिदिने नाममा गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाललगायतबाट एक करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

घुसबाट प्राप्त रकमको स्रोत लुकाउन अधिकारीले श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरेको आयोगको आरोप छ । वास्तविक कारोबार एक करोड ७१ लाख रुपैयाँ भए पनि राजीनामा लिखतमा ९१ लाख रुपैयाँ मात्र देखाएर बाँकी रकमको स्रोत लुकाउने प्रयास गरिएको तथा बैंक खातामार्फत रकमको कारोबार वैधानिक देखाउने प्रयास गरिएको आयोगले जनाएको छ ।

आयोगले घुस लिने–दिने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ तथा त्यसबाट आर्जित रकम लुकाउने र रूपान्तरण गर्ने कार्य सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतको कसुर भएको निष्कर्ष निकाल्दै प्रदीप अधिकारीसहित संलग्न राष्ट्रसेवक र अन्य व्यक्तिविरुद्ध दुवै ऐनअनुसार कारबाही र सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।