Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

मानुषी घोषले जितिन् इण्डियन आइडल–१५ को उपाधि

कोलकाताकी मानुषी घोष गायन रियालिटी शो इण्डियन आइडल–१५ को विजेता घोषित भएकी छन्।

फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड्गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रो स्थानमा राख्दै उनी प्रथम भएकी हुन् । फाइनलमा मानुषी, सुभाजित र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा भए पनि भोटका आधारमा मानुषी विजयी घोषित भएकी हुन् ।

पुरस्कार स्वरूप उनले विजयी ट्रफीसहित २५ लाखको चेक र कार प्राप्त गरेकी छिन् भने दोस्रो र तेस्रो हुने क्रमशः सुभाजित र स्नेहाले ५–५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस वर्ष शोको फाइनलमा बंगालको दबदबा देखियो । शीर्ष पाँच सहभागीमध्ये तीन जना पश्चिम बंगालका थिए । मानुषी र सुभाजितको मित्रता शोमा आउनु अघिको हो र शोमा दुवैले एकअर्कालाई दाजुभाइ र बहिनीको रूपमा मान्ने गर्दथे ।

विजेता बनेपछि मानुषीले भनिन्, ‘मैले यो ट्रफी जितेको छु भनेर अझै पत्याउन सकिरहेको छैन । म भाग्यमानी छु कि मलाई मेरा आमाबुवा, गुरु, दर्शक र निर्णायकबाट यति धेरै माया मिलेको छ । अहिले मेरो दिमागमा धेरै कुरा चलिरहेको छ र म केही भन्न सक्दिनँ ।’ २४ वर्षीया मानुषीलाई बाल्यकालदेखि नै नाच र गाउन दुवैको मन थियो । तर, उनले नृत्यभन्दा गायन रोजिन् र इण्डियन आइडल बनेर आफूलाई प्रमाणित गरिन् । अब उनी संगीत क्षेत्रमा थप करियर बनाउन मुम्बईमै बस्ने योजनामा छिन् ।