नेपाल आइडल सिजन २ का बहुचर्चित गायक पवन गिरीले आफ्नो नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक गरेका छन्। गायक गीरीकै शब्द र संगीत रहेको गीतमा संगीत संयोजन समेत उनले आफैं गरेका छन्।
अहिलेसम्म दर्जनौँ हिट गीत गाइसकेका गीरीको यस नयाँ म्युजिक भिडियोमा चर्चित कलाकार प्रतिभा रानीको दमदार अभिनय देख्न पाइन्छ। भिडियोको निर्देशन पनि गायक गीरी आफैंले गरेका हुन्, जसले भिडियोमा व्यक्तिगत दृष्टिकोण र कलात्मकता झल्किएको देखिन्छ।यस गीतमा पवन गिरीले जीवनका जटिल पक्षलाई गहिरो र विश्लेषणात्मक दृष्टिकोणबाट प्रस्तुत गरेका छन् जसले श्रोताहरूसँग एक गहिरो भावनात्मक जडान स्थापित गर्ने विश्वास गरिएको छ।
‘वास्तविकता’ को भव्य प्रीमियर कार्यक्रम ललितपुरको सातदोबाटोस्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको हो। उक्त समारोहमा नेपाली संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका चर्चित संगीतकर्मी, सञ्चारकर्मी तथा गायक-गायिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गlरीले भने, “यो गीत मेरो जीवनका केही अनुभूति र देखेका यथार्थ घटनाहरूको प्रतिनिधित्व हो। दर्शक(श्रोताले यसलाई आत्मासँग जोड्नेछन् भन्ने विश्वास छ। यो गीत सबैलाई समर्पण गर्न चाहन्छु, जसले हाम्रो समाजका वास्तविकतालाई सही तरिकाले प्रस्तुत गर्दछ। तपाईंहरूको निरन्तर माया र प्रेरणाले मेरो लागि अपार मूल्य राख्दछ।'
गीतले सामाजिक यथार्थ, संघर्ष र भावनात्मक सम्वेदनालाई समेटेको छ भने भिडियोको छायांकन, सम्पादन र प्रस्तुतिमा पनि गहिरो परिश्रम झल्किएको छ। गीत युट्युब लगायत अन्य डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।