उमेरले आठ दशकमा लागेका म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका लिलबहादुर पुनको दैनिकी बाख्रासँगै जङ्गल र गोठ गरेर बित्ने गरेको छ । ८० वर्षीय लिलबहादुरको बाल्य र युवा अवस्था पनि भेडाबाख्रासँगै घुम्ति गोठ लिएर लेक बेशी गरेरै बितेको थियो ।
गत कात्तिकमा ढोरपाटनको बुकीबाट मुनाको झारवाङमा गोठ झारेका लिलबहादुरले हिउँद त्यही बिताए। दुई सय भन्दा बढी घरपरिवारको बसोबास रहेको मुना गाउँमा अहिले लिलबहादुरले मात्रै घुम्ति गोठमा बाख्रा पालेका छन् । आठ दश वर्षअघिसम्म ४०/५० वटा बाख्रा नहुने घर थिएन् । चार/पाँच घर मिलेर एक जना गोठाला राखेर चरन क्षेत्रमा गोठ लैजाने चलन थियो ।
पाँच वर्षअघिसम्म एक हजार भेडाबाख्रा पालेका लीलबहादुरले अहिले भेडा सबै बेचिसके । स्थानीय खरि जातका एक सय बाख्रालाई दुई वर्षअघि रु. छ लाखमा बेचेका लीलबहादुर हाल भएका बाखा बेच्नका लागि पनि ग्राहक खोजेपनि पाएका छैनन् ।

भेडाबाख्रा पालेर लीलबहादुरका दम्पत्तीले १० जना छोराछोरी हुर्काएको र घर ब्यवहार चलाएको बताए । जवान हुँदा गाउँगाउँमा आएर भारतीय र गोर्खा सैनिकमा भर्ति गराउने चलन रहेपनि भेडागोठमै रमाएका लीलबहादुरलाई लाहुरे सपना देखेनन् । उनले वार्षिक १५/२० वटा खसीबोका र १०/१५ वटा माउ बाख्रा बेच्छन् । चार देखि पाँच वर्ष पालेको बोका र खसीलाई रु. ३० हजार सम्ममा बिक्री हुन्छ । खसी मासु र बोका बली चढाउन बिक्री हुन्छ । माउ बाख्रा भने घरमा पाल्नेहरुले किन्छन् ।
हिउँदमा बेसी झरेको समयमा घरपरिवार र आफन्तसँग भेटघाट भएपनि जेठ देखि असोज सम्म हिमाल फेदीका बुकीको घुम्ति गोठको बसाई कष्टप्रद हुने उनले सुनाए। हप्तौ सम्म झरि पर्दा, भेडाबाख्रा हराउँदा, जंगली जनावरले दुःख दिदा, घर परिवारसँग भेटघाट नहुँदा न्यास्रो लाग्ने गरेको उनको अनुभव छ । लेक जाँदा बर्खा यामलाई पुग्ने खाद्यान्न पनि लैजानुपर्छ ।

गोठाला बस्दा हिमालको फेदीमा सुन्दर दृष्य अवलोकन गर्न पाउँदा रमाइलो मान्ने उहाँले चितुवा र ब्याँसोले भेडाबाख्रालाई आक्रमण गर्ने र मारेर क्षति पुर्याउने क्रम बढेको बताए । बाख्रालाई जङगली जनावरबाट बचाउन र आफ्नो सुरक्षाका लागि लीलबहादुरले भोटे कुकुर पनि पालेका छन् ।