Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

महाधिवेशनमा कमजोरी भएको स्वीकार्दै रवि लामिछानेले भने– ‘सुधारेर अघि बढ्छौँ’ (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले पार्टीको प्रथम महाधिवेशन आयोजनामा केही कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा ती कमजोरी सच्याएर अघि बढ्ने बताएका छन्।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन व्यवस्थापन, सहभागीलाई उपलब्ध गराइएको सुविधालगायत विषयमा गुनासो आएको उल्लेख गरे। ती विषयलाई गम्भीर रूपमा लिएर आगामी दिनमा सुधार गरिने उनको प्रतिबद्धता थियो।

लामिछानेले पार्टीले आफ्ना कमजोरी ढाकछोप नगर्ने स्पष्ट गर्दै कमजोरी सार्वजनिक हुनु नै सुधारको अवसर भएको बताए। प्रथम महाधिवेशनले पार्टीलाई थप परिपक्व र जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै उनले अब रास्वपा अझ सशक्त ढंगले अघि बढ्ने बताए।

पदाधिकारी चयनका क्रममा सहमतिको प्रयास गरिए पनि धेरै नेताहरूले दाबी प्रस्तुत गरेपछि आफू झस्किएको उनले बताए। अन्ततः राजनीतिक सुझबुझका साथ निर्वाचन प्रक्रियामा सहभागी हुनुपरेको उल्लेख गर्दै उनले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।

उनले महाधिवेशनले रास्वपामाथि लाग्दै आएका विभिन्न राजनीतिक आरोपहरूको जवाफ दिएको दाबी गर्दै अब पार्टीका नीति र दस्तावेजहरू गम्भीर रूपमा अध्ययन हुन थालेको बताए। संसदीय राजनीतिमा अपेक्षाअनुसार परिपक्व रूपमा प्रस्तुत हुन नसकेको स्वीकार गर्दै उनले पार्टीको नियत भने खराब नभएको स्पष्ट गरे।

सरकारका कामकारबाहीप्रति पार्टी सचेत रहेको उल्लेख गर्दै लामिछानेले द्रुत गतिमा काम गर्ने नाममा लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने बताए।

यसअघि सम्पन्न महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए। उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुँदा महिलातर्फ सोबिता गौतम विजयी भएकी छन्। महामन्त्रीमा विपिन आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन्।

महाधिवेशनले ९९ जना केन्द्रीय सदस्य पनि निर्वाचित गरेको छ। पार्टी विधानअनुसार अब सभापति लामिछानेले एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता र ५१ जना केन्द्रीय सदस्य मनोनित गर्नेछन्। साथै, वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनित हुने व्यवस्था रहेको छ।