बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण विस्तारै रित्तिदै छ । हुने खानेहरु सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्नुका साथै जीविको चलाउँदै आएका छन् ।
गाउँका झण्डै एक सय घर परिवार तरकारी खेतीमा आवद्ध छन् । उनीहरुलाई विभिन्न स्थानीय सरकार र विभिन्न संघ संस्थाले प्राबिधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन् । लेखानी गाउँको टोल–टोलमा प्लास्टिकका टनेल भेटिन्छन् ।
छरिएर रहेको गाउँमा किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएपछि उनीहरुको जीविनस्तरमा पनि सुधार आउन थालेको छ । गत वर्ष गाजा फाउण्डेशनले ५० परिवारलाई तरकारी खेती गर्ने तालिम र अनुदानसमेत दिएको थियो । त्यसपछि गाउँमा तरकारी खेती गर्नेको लर्को लाग्न थालेको छ । तरकारी बेचेरै यहाँका धेरैले दैनिकी चलाउने गरेका छन् ।
यहाँका किसानले उत्पादन गरेको तरकारी बागलुङमा खपत हुने गरेको छ । पहिले कोदो, मकै, र दोरी फल्ने बारीमा अहिले लटरम्म गोलभेडा, बन्दा, काउली र साग उब्जिरहेका छन् । गत वर्ष असारमा संचालन भएको सीपीआई कार्यक्रमले किसानलाई व्यवसायिक बन्न प्रेरित गरिरहेको छ ।
गाउँमा केही छैन भनेर शहर झर्ने र विदेश पलायन हुनेलाई यहाँका किसानले गलत सावित गरि दिएका छन् । उनीहरुले वार्षिक एकदेखि १० लाखसम्मको तरकारी बिक्री गर्ने गरेका छन् ।