Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा आज आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराउँदै  संयोजक दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र सङ्घीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएकाले परिवर्तनका पक्षमा सङ्घर्ष गरेका राजनीतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताए । 

संयोजक दाहालले भने, “कठिन परिस्थितिको सामना गर्न हिजोका १२ बुँदे सम्झौता गर्नेदेखि संविधासभा र संविधान निर्माण गर्नेसम्म सहकार्य गरेका राजनीतिक दलबीच सहकार्य आवश्यक छ ।” त्यसका लागि वामपन्थी कम्युनिष्ट शक्तिदेखि नेपाली कांग्रेसलगायत दलहरूबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो । 

वामपन्थी कम्युनिष्ट घटकहरूबीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्दै संयोजक दाहालले सहकार्यका विषयमा नेकपा (एमाले)सँग पनि प्रयास भइरहेको बताए। 

मधेस प्रदेशमा पार्टीलाई मजबुत बनाउन नसकिए पार्टीको पनि भविष्य राम्रो नबन्ने र मुलुकको पनि भविष्य राम्रो नहुने भएकाले आफ्नो पार्टीले मधेस प्रदेशलाई उच्च प्राथमिकतामा राखेको बताउँदै संयोजक दाहालले आगामी मङ्सीरमा हुने पार्टीको महाधिवेशनबाट ५० प्रतिशत युवालाई पार्टीको विभिन्न कमिटीमा समेटिने योजना बनाएको बताए ।  

विभिन्न वामपन्थी घटकबीचको एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा पार्टी संयोजक दाहालसँगै पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेतृत्वले प्रशिक्षण दिनेछ । आज साँझसम्म चल्ने प्रशिक्षणमा मधेस प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता छन् ।