Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

नौं महिनामै छुट्टिए गायिका एलिना र विष्णु, भावुक हुँदै लेखिन् यस्तो स्टाटस!

चर्चित गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । गायिका चौहानले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदबारे जानकारी दिएकी छन् । 
 

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध नौं महिनामै टुङ्गिएको छ ।  सापकोटालाई सम्बोधन गर्दै चौहानले लेखेकी छन्, “आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।”

गत हप्ता चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिइन् । उनले शङ्का-उपशङ्का गरेको र चरित्रमाथि नै प्रश्न उठाएको आरोप लगाएकी थिइन् ।


चौहानले गत वैशाख ५ गते सापकोटासँग विवाह गरेकी थिइन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । एलिनाको स्थायी घर झापा हो ।

elena chauhan2025-01-31-16-52-12.jpg

चौहानको स्टाटस जस्ताको तस्तै – 

प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन् ।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन् ।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ । यो रहरले होईन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु ।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।